मनाङमा हिउँ पन्छाएर बाटो खुलाइँदै, मतदातालाई गाउँ जान आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी छ । हालसम्म सडक सञ्जालको पहुँच नपुगेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो बाक्लो हिउँ जमेर बन्द भएको थियो ।

हाल उक्त हिउँ पन्छाएर बाटो खुलाइएको छ । आसन्न निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले पाँच दिन खटिएर यहाँको हिउँ पन्छाएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौड्यालले जानकारी दिए ।

मौसमबाहेक मनाङमा अन्य चुनौती नरहेको उनले बताए । नार्पाभूमि गाउँपालिकाका पाँच वडामा ४८८ मतदाता छन् । बाटो खुले पनि गाउँले भने गाउँ फर्किएका छैनन् । जाडो छल्न काठमाडौं, पोखरा बेँसी झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको पौड्यालले बताए ।

निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि सुरक्षा घेरासहित मतपत्र र मतपेटिका सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भएको जानकारी दिए ।

उता नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मतदातालाई गाउँ फर्काउन प्रयास भइरहेको जानकारी दिए ।

मनाङमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा सुवेदी र मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन् । यसअघि एमाले र राप्रपाले समेत उम्मेदवारी दिएकामा कांग्रेसलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका थिए ।

मनाङमा यस निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता छन् । २९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *