आज उम्मेदवारको नाम सार्वजनिक गर्दै निर्वाचन आयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ८

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसपछि बुधबार उम्मेदवारविरुद्ध परेका दाबी–विरोधमाथि छानबिन गरी निर्णय गरिएको आयोगले जनाएको छ। सोही प्रक्रियापछि आज साँझ ५ देखि ७ बजेको समयभित्र उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

आयोगका अनुसार विभिन्न पाँच उम्मेदवारविरुद्ध उजुरी परेको थियो। भक्तपुर क्षेत्र नम्बर २ मा दुई जना, सुनसरी २, रौतहट १ र कैलाली १ मा एक–एक जनाविरुद्ध उजुरी दर्ता भएको हो।

उजुरी परेका उम्मेदवारहरूमा भक्तपुरबाट राजीव खत्री र जानुका पाठक, सुनसरीबाट लालविक्रम थापा, रौतहटबाट माधव नेपाल तथा कैलालीबाट रेशम चौधरी रहेका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ अनुसार सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दर्ता भएको जनाएको छ। उजुरीलाई आवश्यक प्रक्रिया पूरा गरी दर्ता किताबमा अभिलेख गरिएको र उजुरीकर्तालाई भरपाइसमेत प्रदान गरिएको आयोगले जानकारी दिएको छ।

निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ताको म्याद सकिएपछि दर्ता भएका उजुरीहरूको विवरण तयार पारेर कार्यालयमा सार्वजनिक गरिएको छ। उजुरी परेका उम्मेदवारले तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।

आयोगको प्रारम्भिक विवरणअनुसार हालसम्म कुल ३४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *