काठमाडौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले १५ कात्तिकमा घोषणा गरेको आन्दोलनसँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ दिएका छन्।
शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग बैठक गरी हालको अवस्था र सम्भावित चुनौतीबारे छलफल गरेका थिए।
स्रोतका अनुसार, प्रसाईं समूहले भाडामा मान्छे जम्मा पारेर ठूलो भिड उभ्याउन सक्ने भएकाले विशेष निगरानी आवश्यक छ। गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उदाहरण दिँदै सुरक्षा निकायहरूले चेतावनी दिएका छन्।
बैठकमा प्रधानमन्त्री कार्कीले संवादमार्फतै समस्या समाधान गर्न गृहमन्त्री र सचिवलाई निर्देशन दिएकी थिइन्। गृह मन्त्रालयले पनि आन्दोलनका सबै पक्षलाई वार्तामा आउन र निर्वाचन सुरक्षामा प्रभाव नपर्ने गरी संयमित रहन आग्रह गरेको छ।
सुरक्षा निकायहरूले आन्दोलन लामो समय नचल्ने गरी तयारी राखेको उल्लेख गर्दै, आवश्यक परे कडा कदम चाल्न पनि तयार रहेको जनाएका छन्। साथै, प्रसाईं समूहका गतिविधि, अभिव्यक्ति र सामाजिक सञ्जाल प्रयोगमाथि निगरानी बढाइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्