काठमाडौं : लगातार वर्षा र जोखिमयुक्त भू-भागका कारण राति बन्द गरिँदै आएको विपी राजमार्ग असोज १ गतेदेखि पुनः चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ। यस निर्णयसँगै दशैँ–तिहारमा घर फर्किने यात्रुहरूले सहज रूपमा यात्रा गर्न पाउने भएका छन्।
गत असार ७ गतेदेखि सुरक्षा कारणले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली खण्डमा रातिको समयमा (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म) सवारी आवागमनमा रोक लगाइएको थियो। कमजोर भौगोलिक अवस्था र निरन्तर वर्षाले पहिरो तथा दुर्घटनाको जोखिम उच्च भएकाले यस्तो व्यवस्था गरिएको थियो।
जिल्ला सुरक्षा समितिको सोमबार सम्पन्न बैठकले चाडपर्वको अवसरमा यात्रुहरूको चापलाई मध्यनजर गर्दै सजगता अपनाउँदै राजमार्ग २४ घण्टा खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए। उनका अनुसार, सुरक्षाका उपायहरूलाई कडाइका साथ पालना गराउँदै यातायात सञ्चालन गरिनेछ।
राजमार्ग चौबिसै घण्टा सञ्चालनमा आउनुले पूर्वी पहाडी जिल्ला जाने यात्रुहरू, स्थानीय बासिन्दा तथा व्यवसायीक रूपमा आवतजावत गर्नेहरूमाझ ठूलो राहत हुने विश्वास गरिएको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्