काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजालले यसबारे जानकारी दिएका हुन्।
यसअघि हिजो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो। उक्त घटनापछि चक्रपथ क्षेत्रमा आज बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो, जुन सकिएलगत्तै पुनः अनिश्चितकालका लागि कर्फ्यु घोषणा गरिएको हो।
प्रजिअ रिजालका अनुसार कर्फ्यु बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथ क्षेत्रभित्र लागू गरिएको छ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्यलाई आवतजावत गर्न, सभा, जुलुस वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
यस घटनाले राजधानीको वातावरण थप तनावग्रस्त बनाएको छ भने नागरिकहरुमा त्रास बढाएको छ। सरकार तथा सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन उच्च सतर्कता अपनाइरहेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्