बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सुरु भएको “पर्वोत्सव” सुपथ मूल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको आकर्षण बढेको छ ।
‘पहिलाका वर्षमा उद्घाटनको भोलि पल्ट उपभोक्ताको खासै चहलपहल हुँदैन थियो । तर यो वर्ष भने शुक्रवारदेखि नै भिड बढेको छ । सामानहरू उल्लेख्य रूपमा बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रादेशिक प्रमुख भीम बहादुर थापाले बताएका छन् ।
४ वटा बिक्री कक्षमार्फत सहुलियत पसलमा २८ प्रकारका विभिन्न खाद्य वस्तु विक्रीमा राखिएको छ । यसमा दैनिक भान्छामा प्रयोग हुने चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु पर्छन् ।
खाद्य व्यापार कम्पनीले अहिले यी सामाग्रीमा प्रति केजी ५ देखि १० रुपैयाँसम्म छुट दिइरहेको छ । यसका अलावा सहुलियत पसलमा ग्राहकले ग्यास सिलिण्डर पनि किन्न पाउँछन् ।
खाद्य व्यापार कम्पनीले डिस्प्लेमा राखेको बोर्ड अनुसार अहिले चामलमा प्रतिकिलो पाँच रुपैयाँदेखि सात रुपैयाँसम्म छुट दिइएको छ । कर्णालीको सिमीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ ।
चिनीमा पाँच रुपैयाँ, खाने तेलमा सात रुपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । तर, चियापत्ती, नुन र ग्यासमा भने छुट छैन ।
कम्पनीका अनुसार पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकलाई काठमाडौँको चक्रपथभित्र फ्री होम डेलिभरीको व्यवस्था पनि गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया