×

सहुलियत दरमा ऋण उपलब्ध गराउन एआईआईबीलाई आग्रह

चैत्र १२, २०८० | दाक्सु मिडिया

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सहुलियत दरमा ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

सोमबार एआईआईबी टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एआईआईबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए ।

‘नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआईआईबीसँग यस्तो व्यवस्था छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जसले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’

सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पूँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको बताए ।

नेपालमा हाल एआईआईबीको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे ।

‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बंगलादेशमा समेत विद्युत् निर्यात गर्ने सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ, हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआईआईबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालको प्राथमिकताका क्षेत्रमा लगानी अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने विश्वास लिएको छु ।’

नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै उनले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे । भेटमा एआईआईबीका निर्देशक आरएमपी रथनायकेले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: