×

यस्तो भन्छन् बुद्ध एयरका यात्रु आजको घटनाबारे

अशोज ११, २०७८ | दाक्सु मिडिया

काठमाडौं । सोमबार बिहान सवा ८ बजे बुद्ध एयरको विमान ७३ जना यात्रु लिएर विराटनगरका लागि उड्यो ।

करिब एक घण्टा उडान समय रहेको विमान विराटनगरको आकाशमा निर्धारित समयमा पुग्यो पनि । जब पायलटले अवतरण गर्नअुघि ल्याण्डिङ गेयर झार्न खोजे, ल्याण्डिङ गेयर झरेन । समस्या देखियो ।

विमानले ७–८ पटक विराटनगरको आकाशमाथि फन्को मारिरह्यो । क्याप्टेन एजी शेर्पाले ल्याण्डिङ गेयर झार्ने प्रयास गरिरहे । तर, कुनै सिप चलेन ।

यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन । तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन् ।

उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डाइभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो ।

विमान डाइभर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रुवाबासी चलेको लिम्बुले बताए । उनले आफ्नो मनमा उब्जिएको त्रासदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति डर लागेको थिएन । क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो ।

नसकेपछि काठमाडौँ डाइभर्ट गर्नुभयो । तर, जब काठमाडौँको आकाशमा पनि ८–९ पटक फन्को मार्‍यो अनि मन चिसो भयो ।’

उनका अनुसार काठमाडौँको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए । कसैले झ्याल खोलिदिन आग्रह गरिरहेका थिए ।

यात्रुहरुमा रुवाबासी चलेपछि एयरहोस्टेजहरु उनीहरुलाई सम्झाउने प्रयासमा लागेका थिए । तर, उनीहरुको आँखा पनि आँशु देखिएको लिम्बुले बताए ।

उनले भने, ‘उहाँहरु (एयरहोस्टेज) ले सकेसम्म बचाउँछौँ भन्नुहन्थ्यो । इन्धन सक्ने प्रयास भएको र इन्धन सकिएपछि ल्याण्ड गर्ने बताउनु हुन्थ्यो । उनीहरुको आँखा पनि आँशु थियो ।’

काठमाडौँको आकाशमाथि विमानलले फन्को मार्दा आफूले झ्यालबाट विमानस्थलमा सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देखेको लिम्बुले बताए ।

त्यसपछि भने निकै डर लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए । यसपछि भने आफूले घरमा ‘बाँचे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए ।

विमान भित्रको यो त्रासदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मारिसकेपछि विमानको ल्याण्डिङ गेयर झर्‍यो । विमान सहजरुपमा अवतरण भयो ।

बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उद्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी साटेको देखिन्छ । यात्रुहरुले भने पुनर्जीवन पाएको प्रतिक्रिया दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: