×

हुम्लाका तीनवटा पिल्लरमै नपुगी फर्कियो अध्ययन टोली

अशोज ६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । चीनसँग सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हुम्लामा पुगेर फर्किएको छ ।

१५ वटा पिल्लर रहेको हुम्लामा उनीहरुले १२ वटाको मात्रै अनुगमन गरेका छन् । बाँकी तीन वटा पिल्लरमा भने पुगेन। हुम्लामा ३ नम्बर पिल्लरदेखि १२ नम्बरसम्म १५ वटा पिल्लर छन्। ५ नम्बरदेखि ९ नम्बरसम्म दुई÷दुई वटा पिल्लर पर्छन्।

‘धेरै उचाइमा रहेका तीनवटा पिल्लरमा अनेक कोशिस गर्दा पनि पुग्न सकिएन। हेलिकोप्टरबाट जान सकिन्छ कि भनेर पनि कोसिस गरेको हो। तर मौसमले साथ दिएन’, टोलीका एक सदस्यले भने, ‘हामी पुग्न नसकेका पिल्लरमा सशस्त्र प्रहरी केही समयअघि मात्रै पुगेर फर्किएको रहेछ, त्यहाँ समस्या छैन।’

गृह मन्त्रालयका सहसचिव नेतृत्वको ७ सदस्यीय टोली भदौ २६ गते हुम्ला पुगेको थियो। टोलीमा तीन जना नापी विभागका कर्मचारी समेत संलग्न थिए।

स्थलगत अध्ययनमा जानुपहिले सदरमुकाम सिमकोटमा राजनीतिक दलहरुसँग छलफल गरेको थियो। छलफलमा राजनीतिक दलहरु दुई धारमा विभाजित भएका थिए।

नेकपा एमाले र माओवादीले चीनसँग सीमा समस्या नरहेको बताएका थिए। नेपाली कांग्रेसका प्रतिनिधिले सीमामा समस्या रहेको बताए।

‘दुईथरि कुरा आएको छ, राजनीतिक दलका नेताहरु पनि समस्या छ कि छैन भन्ने कुरामा दुईथरि कुरा गर्नुभएको छ। त्यही भएर वास्तविक के हो त भनेर सरकारले हामीलाई पठाएको हो, हामी सबै कुरा अध्ययन गरेर प्रतिवेदन बुझाउँछौँ’, ती अधिकारीले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: