×

मेलम्ची बाढी पीडितलाई राहत दिने काम ढिलो भयोः प्रचण्ड

साउन २४, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा ढिलाई गरेको बताएका छन् ।

आइतबार बिहान दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको जनाएका हुन् ।

‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलाप तीव्रतासाथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधि त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन,’ उनले भने ।

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तन लगायतले पनि भूमिका खेलेको हुन सक्ने दावी गर्दै त्यसलाई न्यूनिकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाइ थियो ।

नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै उनले त्यसलाई न्यूनीकरण गर्न सरकारले संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: