×

आजदेखि नेपालसहित छिमेकी देशलाई खो’प उपलब्ध गराउँदै भारत

माघ ७, २०७७ | दाक्सु मिडिया

काठमाडौं : भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुध्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ । तर नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ भन्नेबारे खुलिसकेको छैन ।

अघिल्लो साता औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एस्ट्राजेनेकाको ‘कोभिशिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

औपचारिक जानकारी दिन स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन गर्ने

भारतले दिन लागेको कोभिडविरुद्धको खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो स्वास्थ्यमन्त्री र भारतीय राजदूतले संयुक्त पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार ट्विट गर्दैै आजदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी दिएका छन् । नेपालका अधिकारीले भने खोप आजै पनि आउन सक्ने तथा कम्तीमा यो हप्ताभित्र आइपुग्ने अपेक्षा गरेका छन् ।

केहीदिन अघि भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणका क्रममा नेपाललाई खोप उपलब्ध गराउन दुई देशबीच छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: