सात वर्षपछि भारत भ्रमण गर्दै चिनियाँ राष्ट्रपति सी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २६

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी भारत भ्रमणमा जान लागेका हुन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सीको भारत भ्रमणको औपचारिक घोषणा गरेका हुन्। यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत भ्रमण हुनेछ। घोषणासँगै भारतीय सञ्चारमाध्यमले यसलाई चीन–भारत सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण घटनाका रूपमा प्रस्तुत गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सीको भ्रमणले दुई एसियाली शक्तिबीचको सम्बन्ध सुधार तथा स्थायित्वका लागि भइरहेका प्रयासलाई थप गति दिन सक्ने अपेक्षा गरिएको छ।

सीमा विवादपछि सम्बन्ध सुधारको प्रयास

चीन र भारतबीच पछिल्ला वर्षमा सीमा विवादका कारण तनावपूर्ण सम्बन्ध रहँदै आएको थियो। पछिल्लो समय भने दुई देशबीच सम्बन्ध सुधारका संकेत देखिन थालेका छन्।

ब्रिक्स सम्मेलनका क्रममा सी र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ। गत अगस्ट २५ मा बेइजिङमा चीन र भारतबीच सीमा मामिलासम्बन्धी विशेष प्रतिनिधिहरूको २५औँ चरणको वार्ता भएको थियो। उक्त वार्तामा आठबुँदे सहमति भएको थियो, जसलाई दुवै पक्षले सम्बन्ध सुधारको सकारात्मक संकेतका रूपमा लिएका छन्।

विज्ञहरूका अनुसार सीको भ्रमणमा चीन–भारतबीचको रणनीतिक, राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध प्रमुख विषय बन्न सक्छ।

आर्थिक तथा प्राविधिक सहकार्यमा जोड

‘इन्डिया चाइना इकोनोमिक एन्ड कल्चरल काउन्सिल’का प्रमुख मोहम्मद सकिबले चीन र भारतबीच आर्थिक तथा प्राविधिक क्षेत्रमा महत्वपूर्ण परिपूरक क्षमता रहेको बताएका छन्।

उनका अनुसार चीन उत्पादन तथा ‘हार्डवेयर’ क्षेत्रमा बलियो छ भने भारतसँग सफ्टवेयर र ठूलो युवा जनशक्ति रहेको छ। दुई देशले आफ्ना क्षमतालाई सहकार्यमा प्रयोग गर्न सके आर्थिक सम्बन्ध थप विस्तार हुन सक्ने उनको भनाइ छ।

अमेरिकासँगको सम्बन्धमा पनि पुनर्विचार

सकिबका अनुसार पछिल्ला अन्तर्राष्ट्रिय घटनाक्रमले भारतलाई आफ्नो विदेश नीतिका प्राथमिकताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकताबारे थप सचेत बनाएको छ।

उनले चीन भारतको छिमेकी मात्र नभई दुई देशबीच प्राचीन सभ्यता, इतिहास र संस्कृतिको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै चीन–भारत सम्बन्धमा विश्वास पुनर्निर्माणको प्रक्रिया अझै जारी रहेको बताए।

उनका अनुसार ब्रिक्सजस्ता बहुपक्षीय मञ्चले दुवै देशलाई एकअर्काका चासो बुझ्ने तथा सम्बोधन गर्ने अवसर प्रदान गर्न सक्छ।

ब्रिक्समा ग्लोबल साउथको आवाज

सीको भारत भ्रमणलाई चीन–भारत सम्बन्धमा मात्र सीमित नभई ग्लोबल साउथको सहकार्य र बहुध्रुवीय विश्व निर्माणसँग समेत जोडेर हेरिएको छ।

ब्रिक्स विस्तारपछि समूहको आकार पहिलेभन्दा ठूलो भएको छ। सदस्यता, समूहको एकता तथा आर्थिक सहकार्यका प्राथमिकताबीच सन्तुलन कायम गर्नु सम्मेलनको प्रमुख चुनौती हुने विज्ञहरूको भनाइ छ।

भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ। नयाँदिल्लीमा सम्मेलनको तयारी तीव्र पारिएको छ भने सम्मेलनस्थल भारत मण्डपम र राजधानीका प्रमुख सडकमा ब्रिक्ससम्बन्धी पोस्टर तथा ब्यानर राखिएका छन्। सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

यस वर्ष भारतले ब्रिक्स अध्यक्षताका लागि उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपन निर्माणलाई मूल विषय बनाएको छ।

सम्मेलनमा स्थानीय मुद्रामा कारोबार, सीमापार डिजिटल भुक्तानी, बहुपक्षीय वित्तीय संस्थामा विकासशील मुलुकको प्रतिनिधित्व, न्यु डेभलपमेन्ट बैंकको विस्तार, ऊर्जा तथा स्वच्छ ऊर्जा रूपान्तरण, हरित वित्त, जलवायु परिवर्तन, खाद्य सुरक्षा र कृत्रिम बुद्धिमत्ताको शासनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

चीन–भारत व्यापारिक सम्बन्ध बलियो

राजनीतिक तथा सीमा विवादका बाबजुद चीन र भारतबीचको आर्थिक अन्तरनिर्भरता भने बढ्दै गएको छ। आर्थिक वर्ष २०२५/२६ मा भारतको आर्थिक वृद्धि करिब ६.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने सोही अवधिमा चीन र भारतबीचको वस्तु व्यापार करिब १५१ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ।

यससँगै चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ।

विज्ञहरूका अनुसार दुई देशले आर्थिक सम्बन्धलाई स्थिर र थप विस्तार गर्न सके त्यसको प्रभाव चीन र भारतमा मात्र सीमित रहने छैन। ऊर्जा अभाव, बढ्दो मूल्य तथा आर्थिक कठिनाइ सामना गरिरहेका विकासशील मुलुकहरूको आवाजलाई चीन र भारतले अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउन सक्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *