जनकपुरधाम । सरकार र आन्दोलनरत हिन्दूवादी पक्षबीच भएको वार्ताले सहमतिको रूप लिएको छ। शनिबार राति जिल्ला प्रशासन कार्यालय धनुषामा सम्पन्न छलफलपछि दुवै पक्ष १३ बुँदे समझदारीमा पुगेका हुन्।
गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच भएको सहमतिमा धार्मिक सद्भाव कायम राख्ने, धार्मिक स्थलमा ध्वनि उपकरणको प्रयोग व्यवस्थित गर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउनेमाथि कानुनी कारबाही गर्ने तथा धार्मिक संस्थाको आर्थिक पारदर्शिता र नियमनलाई प्रभावकारी बनाउने विषय समेटिएका छन्।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाको उपचार, पक्राउ परेका व्यक्तिको मुद्दा पुनरावलोकन, धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिको अभिलेखीकरण तथा नागरिकता वितरण प्रक्रियाको अध्ययन गर्ने विषयमा पनि समझदारी भएको जनाइएको छ। नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने मागबारे भने तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अघि बढाउने सहमति भएको छ।
वार्तामा मधेस प्रदेश सरकारका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा हिन्दूवादी संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्