काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । त्यो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका प्रवक्ता गिरीले बताए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
अर्याल र लम्सालमध्ये एकलाई गृहमन्त्री बनाउन सहमति नजुटेपछि बालेनले सुधन गुरुङ अगाडि सारे । बालेन सरकारका गृहमन्त्री गुरुङ बनेपछि अर्याल राज्यको प्रमुख अङ्ग व्यवस्थापिका संसदको सभामुख बन्न सफल भएका हुन् ।
शालीन, राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका खेल्न सक्ने क्षमताका कारण उनलाई पार्टीले सभामुखमा अगाडि सारेको रास्वपाका नेताहरूले जिकिर गरेका छन् ।
तर, सभामुख भएसँगै पार्टीको सक्रिय राजनीतिमा अर्यालको कम्तिमा पाँच वर्ष ब्रेक लाग्ने भएको छ । सभामुखमा निर्वाचित भएपछि दलीय आबद्धता नरहने संवैधानिक व्यवस्था छ ।
को हुन् सभामुख अर्याल ?
२०३२ सालमा धादिङको ज्वालामुखी गाउँपालिका ९साबिक मैदी गाविस०मा एक सामान्य परिवारमा जन्मिएका अर्याल रोजगारीको सिलसिलामा २०४९ सालपछि काठमाडौँमा प्रवेश गरेका थिए ।
अर्यालले सुरुवाती दिनमा रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम गरे । २०५३ सालमा वैदेशिक रोजगारीका लागि उनी जापान पुगे । अर्यालले जापानमा करिब ८ वर्ष काम गरे । जापानबाट फर्किएपछि पर्यटन, शिक्षा, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय बनेका अर्याल अहिले राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा उदाएका छन् । रवि लामिछानेसँगको सहकार्यबाट राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि उनी उपसभापति बनेका थिए ।
२०७९ सालमा पहिलो पटक सांसद बनेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्दै श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए। दुई पटक मन्त्री बनेका उनले करिब पाँच महिना कार्यभार सम्हाले । पार्टी सभापति लामिछाने कानुनी विवादमा परेर जेल पुगेपछि पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी अर्यालकै काँधमा आयो। चुनौतीपूर्ण परिस्थितिमा पार्टीलाई जोगाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
हाल अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उच्च संवैधानिक जिम्मेवारीमा पुगेका छन् । एकल बहुमतको सरकार भएकाले काम गर्न सहज देखिए पनि संविधान संशोधन र संघीयता कार्यान्वयनमा समन्वय गर्नु उनका लागि प्रमुख चुनौती रहनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्