काठमाण्डौँ । नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल) लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ । आजको सचिवालय बैठकबाट बादललाई सचेत गराइने बताइएको छ ।
एमाले सचिवालय बैठक आज दिउँसो एक बजे बोलाइएको छ । बादलले बिहीबारको संसद बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र विभिन्न निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए । साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए ।
उनको विवादित अभिव्यक्तिले एमालेमा तरंग छ । उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे आजको सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र ‘उचित’ निर्णय हुने बताएका छन् ।
बादल एमालेको समानुपातिकतर्फबाट अहिले सांसद छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बादल कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्