काठमाडौँ । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ ।
पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि ६२ करोड विनियोजन भएको थियो ।
बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा कालोपत्र र ग्राभेल गर्ने कार्य लक्ष्यभन्दा पाँच महिनाअघिनै सम्पन्न भए पनि बजेट अभावमा भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताए । दुई करोड बजेट विनियोजन भएको यो योजनाका लागि थप दुई करोड ५० लाख बजेट अपुग भएको छ ।
गलेश्वर–पुलाश्रम (पछै) जगन्नाथ जोड्ने सडक आयोजनाका निर्माण व्यवसायी भीम सापकोटाले पनि लक्ष्यभन्दा पाँच महिनाअघिनै योजना सम्पन्न गरे पनि बजेट अभावका कारण ऋण खोजेर मजदुरको ज्याला र आपूर्तिकर्तालाई भुक्तानी दिनुपरेको गुनासो गरे । हाडेभिर–बगरफाँट–भकिम्ली र भगवती–सिजलगाउँ–बेग सडक योजनाका निर्माण व्यवसायी नीरज भण्डारीले बजेट सकिएपछि निर्माण कार्य स्थगित गरेको बताए ।
क्रमागत १७ वटा योजनाका लागि ५२ करोड र नयाँ १५ वटा योजनाका लागि १० करोड बजेट प्राप्त भएको थियो । सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटनबाहेक धेरैजसो सडकमा बजेट अभाव भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्