काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार शपथ लिँदैछन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शपथ के हुन्छ भन्ने विषयमा आम चासो छ ।
यो विषयमा संघीय संसद् सचिवालयका अधिकारीहरूले समेत आन्तरिक छलफल गरेका छन् । उनीहरूको निष्कर्ष छ । सांसद हुनु र निलम्बन हुनु फरक अवस्था हो ।
एक अधिकारी भन्छन्, ‘सांसद पदको उम्मेदवार हुन योग्य नरहेको भए निर्वाचन आयोगले हेर्ने थियो । कानुनले सांसद पदमा उम्मेदवार हुन नरोकेपछि रवि उम्मेदवार भए र चितवन २ बाट निर्वाचित पनि भए । त्यसअनुसार निर्वाचन आयोगले निर्वाचित सांसदहरूको सूची पठाएको छ ।’
उनका अनुसार निर्वाचन आयोगले निर्वाचित भएको भनेर पठाएकाहरू सबैले शपथ लिन पाउँछन् । ‘शपथ लिइसकेपछि निलम्बनको अवस्थाको कुरा आउने हो । सांसद नै नभइ निलम्बनको कुरा आउँदैन । यसकारण रवि लामिछानेको हकमा शपथ लिन पाउने वा नपाउने भन्ने अन्योल छैन,’ उनी भन्छन्, ‘शपथ लिइसकेपछि कुनै पनि सदस्य निलम्बनमा रहने अवस्था छ वा छैन भन्ने हेरिन सक्छ ।’
सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लागेपछि विघटित प्रतिनिधिसभामा लामिछाने निलम्बनमा परेका थिए ।
७ पुस २०८१ मा लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
लगत्तै ८ पुस २०८१ मा संघीय संसद् सचिवालयले सूचना निकालेर लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको थियो ।
सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ को दफा दफा २२ मा मुद्दा दायर भएपछि सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतस् निलम्बन भएको मानिने व्यवस्था छ ।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा लागेको छैन । यसकारण उनले सांसद पदको शपथ लिन पाउँछन कि पाउँदैनन् भन्ने चासो रहेको हो ।
महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू लामिछानेले कानुनतः शपथ लिन नमिल्ने तर्क गर्छन् ।
गत फागुन २१ गतेको निर्वाचनमा लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।
यसअघि उनी २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवादमा उनको पद गयो । त्यसपछि २०८० सालमा भएको उपनिर्वाचनमा पुनस् उम्मेदवार भएर चुनाव जिते ।
यसपटक पनि चुनाव जितेर आएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्