निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका एक युवकको गाडीको ठक्करबाट मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौँ । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् ।

होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए ।

होटलमा काम गर्ने भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते हैदरावादतर्फ हिंडेका थिए । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिए ।

विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्किएपछि हैदरावादतर्फ गएका थिए । तिलक घरका दुई छोरामध्ये कान्छो छोरा हुन् । उनीहरूका पाँच जना दिदीबहिनी छन् । श्रीमतीसँग अलग्गिएर बसिरहेका उनको पाँच वर्षका छोरा छन् ।

हैदरावादतर्फ हिंडेकै दिन तिलकको घर हावाहुरीले क्षतिग्रस्त बनाइदिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *