चितवन । चितवनमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा विभिन्न दलका नेतासहित ५७ जना उम्मेदवारले आवश्यक मत नपाउँदा जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ती उम्मेदवारहरूले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो।
निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार चितवन–१ मा १५ जना, चितवन–२ मा २१ जना र चितवन–३ मा पनि २१ जना उम्मेदवारको जमानत जफत भएको छ। चितवन–१ मा प्रतिनिधिसभाका लागि १८ जनाले उम्मेदवारी दिएका थिए। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो। सो क्षेत्रमा ९६ हजार १५४ मत खसेकोमा ९१ हजार ८९९ मत सदर भएको थियो।
त्यस्तै चितवन–२ मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवार बाहेक अन्य सबै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको जानकारी दिइएको छ। यहाँ ८७ हजार २२१ मत खसेकोमध्ये ८४ हजार २३२ मत सदर भएको थियो।
चितवन–३ मा पनि २३ जनाले उम्मेदवारी दिएका थिए। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बाहेक अन्य सबै दल तथा स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो।
जिल्लाभर कुल दुई लाख ८३ हजार ४२८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। साथै चितवन–२ र ३ मा समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ भने चितवन–१ को मतगणना अन्तिम चरणमा पुगेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्