सोलुखुम्बुका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित दुई मतदान केन्द्रमा यसपटक सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई सुम्पिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जन जागृति माध्यमिक विद्यालय र जन जागृति आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रहरूमा महिला कर्मचारी मात्र खटाएर समावेशी नेतृत्वको सकारात्मक सन्देश दिएको हो ।

सल्लेरीस्थित जन जागृति माध्यमिक विद्यालय मतदान केन्द्रमा सुजता उप्रेती मतदान अधिकृतको रूपमा खटिएका हुन् । उनलाई सहायक मतदान अधिकृत नविना श्रेष्ठले साथ दिएका छन् । सहायक कर्मचारीका रूपमा जमुना खत्री, जुनामाया तामाङ र रिता देवी दाहाल खटिएका छन् ।

त्यसैगरी, जन जागृति आधारभूत विद्यालय मतदान केन्द्रमा इन्दू बस्याल भण्डारी मतदान अधिकृत र बिरमा कुमारी खड्का डाँगी सहायक मतदान अधिकृतको जिम्मेवारीमा खटिएका छन् । यस केन्द्रमा दिक्षा तिवारी, उषा रिजाल र बुलबुल पौडेल सहायक कर्मचारीका रूपमा कार्यरत रहेका छन् ।

जिल्लाभर कुल १२४ मतदान स्थल र १३९ मतदान केन्द्र निर्धारण गरिएका छन् । यी केन्द्रहरूमा ८५ हजार ५१५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनलाई निष्पक्ष, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी पूरा गरेको जनाएको छ।

यसै क्रममा फागुन १४, १५ र १६ गते मतदान कार्यमा खटिने कर्मचारीहरूलाई सघन निर्वाचनसम्बन्धी तालिम प्रदान गरिएको थियो । तालिममा मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान, आचारसंहिता पालन तथा आपतकालीन अवस्थाको व्यवस्थापनबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *