६१ वटा दुर्गम ठाउँका मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ ।

भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ । जसमा डोल्पाका २३ वटा र हुम्लाका ४ वटा मतदान केन्द्र रहेका छन् ।

मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिए ।

ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थान बाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका संकलन गरिनेछ । मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ ।

‘अरु सवारी साधनबाट संकलन गर्ने सन्दर्भमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन आयोगले ढुवानीको रकम पठाएको छ र उहाँहरूले ढुवानी कार्ययोजना बनाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा त्यो मतपेटिका मतपत्र सहितको मतपेटिका मतगणना स्थलमा ल्याइन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *