काठमाडौं — नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले मतदातालाई भावनामा बगेर विगतका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्। उनले “नयाँ अनुहार” को आकर्षणमा परेर २०६४ सालको जस्तै निर्णय नगर्न सचेत गराए।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले २०६४ को निर्वाचनपछि करिब दुईतिहाइ जनमत पाएको तत्कालीन माओवादी नेतृत्वले अपेक्षित राजनीतिक निकास दिन नसकेको स्मरण गरे। जनताको विश्वास ठूलो भए पनि त्यसलाई परिणाममा रूपान्तरण गर्न नसक्दा देशले स्थिर दिशा नपाएको उनको टिप्पणी थियो।
उनले निर्वाचनलाई प्रतिस्पर्धात्मक वैचारिक मञ्चका रूपमा व्याख्या गर्दै भने, “निर्वाचन कुनै दुस्मनीको अखडा होइन, यो विचार र नेतृत्व क्षमताको परीक्षा हो।” देशमा देखिएको असन्तुष्टि, निराशा र प्रश्नहरूको जवाफ अब बन्ने सरकारले दिनुपर्ने उनको भनाइ थियो।
शर्माले आवेग, आक्रोश र आरोप–प्रत्यारोपभन्दा पनि स्पष्ट दृष्टिकोण, कार्ययोजना र नेतृत्व क्षमतामाथि खुला बहस हुनुपर्ने प्रस्ताव गरे। मतदाताले स्थायित्व, विकास र सुशासन दिन सक्ने शक्ति रोज्नुपर्नेमा उनले जोड दिएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्