निर्वाचनका लागि करिब ८० हजार सैनिक परिचालित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन् । फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन् ।

नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ।

मतदानका क्रममा आपतकालीन अवस्था आइपरे उद्धार कार्यमा पनि सेनाको मुख्य भूमिका रहनेछ । त्यसका लागि सेनालाई हेलिकोप्टरको समेत प्रयोग गर्ने अधिकार दिइएको जंगी अड्डा स्रोतले जनाएको छ।

त्यस्तै निर्वाचनको समयमा हुनसक्ने शंकास्पद वस्तु तथा विष्फोटक पदार्थहरूलाई निष्क्रिय पार्न पनि सेनाको बम डिस्पोजल टोली परिचालन हुनेछ। मतदानको दिन सेनाको टोली मतदान केन्द्रबाट सवारी साधनमा बढीमा ३० मिनेटको दूरीमा तैनाथ रहने स्रोतको भनाइ छ।

सैनिक अधिकारीहरूले मतदानस्थलमा नजिकबाट सुरक्षा दिनुका साथै बाहिरी सुरक्षाको पनि व्यवस्था गर्ने जंगी अड्डाको भनाइ छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम सबै किसिमका सुरक्षा जिम्मेवारी लिन पनि सैनिक अधिकारीहरू तयारी अवस्थामा रहनुपर्ने स्रोतको भनाइ छ।

त्यस्तै सुरक्षा संवेदनशीलताको आधारमा सेना परिचाल गरिने र आवश्यकता अनुसार संयुक्त जिल्ला सुरक्षा योजना बमोजिम स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्ती पनि परिचालन गरिने जंगी अड्डाले जनाएको छ। त्यस्तै ७७ वटै जिल्लामा सेनाको रिजर्भ फोर्स तयारी अवस्थामा रहने र त्यो फोर्स जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम परिचालित हुने बताइएको छ।

निर्वाचनका समयमा सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिँदै आएका कारागार, विमानस्थलजस्ता संवेदनशील ठाउँको पनि सुरक्षा दिने जंगी अड्डाको भनाइ छ।

यसैबीच प्रधानसेनापति अशोक राज सिग्देलले सुरक्षा वेशहरुको निरीक्षण गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *