काठमाण्डौँ । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ ।
मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको हो ।
कांग्रेसले पर्यटन क्षेत्रको हिस्सा कूल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पु¥याउने लक्ष्यका लागि नेपालका विमानस्थल यात्रीमैत्री, सुविधायुक्त बनाउन आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ । पर्यटनको लक्ष्य प्राप्तिमा कांग्रेसले नेपाल वायुसेवा निगमको छ महिनाभित्र व्यवस्थापन सुदृढीकरणमार्फत ‘जनताको ध्वजाबाहक’ मा रूपान्तरण गर्ने लक्ष्य राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराई नेपाललाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न विभिन्न कार्य गर्ने कांंग्रेसले जनाएको छ ।
‘एयर ट्राफिक’ व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने विमानको ‘होल्डिङ’ समय न्यूनीकरण व्यवस्था गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गरी हवाई सुरक्षा सुदृढ गर्ने तथा नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी ‘सेफ्टी लिस्ट’बाट हटाउन पहल गर्ने कांग्रेसले जनाएको छ ।
पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सीधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ । कांग्रेसले अमूल्य सभ्यता, सम्पदा र निधिलाई केवल इतिहासको पानामा मात्र सीमित नराखी र भौगोलिक विशिष्टतालाई उपयोग गर्दै पर्यटनलाई रोजगारी, उद्यमशीलता र स्थानीय समुन्नतिको मुख्य आधारस्तम्भ बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक गन्तव्य बनाउने सङ्कल्प गरेको छ ।
त्यस्तै पार्टीले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारासहित विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ । जनकपुर–लुम्बिनी–काठमाडौँ आध्यात्मिक र बुद्ध–टु–शिव’ अध्यात्मिकजस्ता डिजिटल कोरिडोरलगायत मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई र सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउन काम गर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा उल्लेख छ ।
कांग्रेसले पर्यटन क्षेत्रमा आबद्ध महिला तथा युवा उद्यमीलाई विशेष कर छुट र सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने, पर्यटन विकासमा सार्वजनिक–निजी–सामुदायिक साझेदारी मोडेल अवलम्बन गर्ने, पर्यटन क्षेत्रमा मर्यादित रोजगारी र समान ज्यालाको नीति सुनिश्चित गर्ने वाचा गरेको छ ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्