काठमाण्डौँ । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन अनन्त ले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
उक्त कार्यमा संलग्नमाथि काननी कारबाहीको माग गर्दै रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् ।
अत्यन्तै भ्रामक, झुद्दा र चरित्र हत्या गर्ने किसिमका सामग्रीहरू सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख गरी निवेदन दिइएको पुनको सचिवालयले जनाएको छ ।
‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने हनन् गरेको छ । यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरू तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरू तथा समूहको पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारवाही गरी पाउन यो निवेदन पेस गर्दछु’, उजुरीमा भनिएको छ ।
प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यले प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको भेटिएकाले त्यसमा संलग्न व्यक्तिहरूमाथि कारवाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनको भनाइ छ ।
पुनले पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नार्फबाट मौखिकबाहेक लिखित रुपमा छुटटै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको उल्लेख गरेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्