काठमाण्डौँ । विघटित प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्वाङले एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी ओलीको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
खुलाबाट प्यानलमा नपरे पनि युवालाई छुट्याइएको ५ प्रतिशत कोटामा पर्ने विश्वास सुहाङलाई थियो । तर ओलीपक्षले उनलाई संवादमा नै नजोडेपछि उनी स्वतन्त्र ढंगले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने मनस्थितिमा पुगेका हुन् ।
गत भदौ २३ र २४ मा भएको जेन जी विद्रोहपछि एमालेले पार्टी विधानमा हेरफेर नै गरेर युवाका लागि ५ प्रतिशत छुट्याएको छ ।
उनलाई सहयोग गरिरहेका एमाले कार्यकर्ताहरूले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिने विषयमा पनि छलफल गरेका थिए । तर यतिबेला पक्ष/विपक्षमा लागेरभन्दा स्वतन्त्र ढंगले उम्मेदवारी दिँदा जित्न सकिने सहयोगीहरूको निष्कर्षपछि उनी रोकिएका थिए । उनलाई सहयोग गर्ने ईश्वर पोखरेल समूहकै नेताहरूले समेत सल्लाहमा दर्ता गराएको उम्मेदवारीलाई व्यक्तिगत भनेपछि उनी पनि स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेका हुन् ।
सुहाङ पूर्वसभामुख समेत रहेका एमालेका प्रभावशाली नेता सुवास नेम्वाङका पुत्र हुन् । सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम(२ बाट २०८१ को उपचुनाव जितेर प्रतिनिधिसभा सदस्य बनेका सुहाङलाई धेरैले रुचाउने गरेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्