काठमाडौं — सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई कार्यक्षमता र व्यावसायिक निष्ठा अझ सुदृढ गर्दै जनउत्तरदायी संसदीय अभ्यासमा सक्रिय हुन आग्रह गरेका छन्।
संसद् सेवा दिवस–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसदीय सेवामा आबद्ध राष्ट्रसेवक कर्मचारीको भूमिकाले संविधान कार्यान्वयन र कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने बताए। उनले निष्पक्षता, दक्षता र पारदर्शितामार्फत जीवन्त संसद् निर्माण सम्भव हुने उल्लेख गरे।
संसदीय अभ्यासलाई व्यवस्थित र व्यावसायिक बनाउन १९ वर्षअघि छुट्टै ऐनमार्फत संसद् सेवाको स्थापना गरिएको स्मरण गराउँदै हरेक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाइँदै आएको छ।
सभामुख घिमिरेका अनुसार लोकतन्त्रको मन्दिर मानिने संसद्लाई सुचारु राख्नु पवित्र जिम्मेवारी हो। संसद्को स्वायत्तता कायम राख्दै समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत संसदीय सेवा विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले जोड दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्