मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाश, सुमन अर्याल नयाँ मुख्यसचिव नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ९

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा प्रवेश गरेका छन्। उनको अवकाशसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण अर्याल २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहदामा—मुख्यसचिव—रूपमा नियुक्त भएका थिए।

मुख्यसचिवका रूपमा उनले शासकीय कामकाज, विकास व्यवस्थापन तथा सेवा प्रवाहमा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनको नेतृत्वमा नीतिगत तथा कानुनी सुधारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्दै कार्य सञ्चालनमा सहजता आएको छ।

उनको कार्यकालमा जेनजी आन्दोलनको व्यवस्थापनदेखि विभिन्न पक्षसँग वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति तथा स्थायित्व कायम गर्न भूमिका निर्वाह गरिएको उल्लेख छ। साथै अनुपयुक्त कार्यविधि तथा मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखिएको समस्याका समाधानका लागि प्राधिकरण गठनजस्ता कदम पनि उनका कार्यकालका उपलब्धिका रूपमा प्रस्तुत गरिएका छन्।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको उपयोगलाई प्राथमिकता दिइएको, ‘ग्रेलिष्ट’बाट बाहिरिन आवश्यक सुधारात्मक कार्ययोजना तयार पारेर कार्यान्वयन अघि बढाइएको तथा पहिलोपटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गर्न सरकारले नेतृत्व पाएको उनको कार्यकालमा सम्भव भएको बताइएको छ।

यससँगै सार्वजनिक सेवा प्रवाहमा विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र डिजिटल रुपान्तरणमा जोर दिइएको छ। राष्ट्रिय परिचयपत्रलाई सबै सेवाको सुरु बिन्दु बनाउँदै परिचयपत्र नम्बरका आधारमा सेवा प्राप्तिको प्रक्रिया सुधार गरिएको कार्यालयले जनाएको छ।

उनको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको सफल सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिएको पनि उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *