सुदन गुरुङको साथमा कुलमानको ‘उज्यालो नेपाल’, सुमना छुटिन् फरक बाटो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाडौं — ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको तयारीमा रहेको ‘उज्यालो नेपाल’ नामक नयाँ राजनीतिक दललाई ‘द काउन्सिल अफ जेनजी’ का संस्थापक सुदन गुरुङले समर्थन जनाएका छन्।

गुरुङ स्वयं दलमा प्रवेश नगरे पनि उनका संगठनका ६ जना प्रदेश संयोजकहरू कुलमानको टोलीमा सहभागी भएका छन्। सहभागी हुनेहरूमा बागमतीकी अफसाना बानु, मधेसका शिव यादव, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमका खेमराज साउदकर्णालीका प्रकाश खड्का रहेका छन्। उनीहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने तयारी छ।

हालसम्म कुलमान स्वयं औपचारिक रूपमा पार्टीमा आवद्ध भएका छैनन्। पार्टीको संयोजकमा पूर्वसचिव अनुपकुमार उपाध्याय रहेका छन्। स्रोतका अनुसार कुलमानले आगामी निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर औपचारिक रूपमा पार्टीको नेतृत्व लिने योजना बनाएका छन्।

‘उज्यालो नेपाल’ले निर्वाचन चिह्नका रूपमा ‘बिजुलीको चिम’ माग्ने तयारी गरेको छ। पार्टीलाई सुदन गुरुङसँगै काठमाडौंका मेयर बालेन्द्र शाहको पनि समर्थन रहेको चर्चा छ।

यसअघि कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने प्रयास गरेका थिए, तर सहमति नजुटेपछि नयाँ पार्टी गठनको बाटो रोजेका हुन्। अन्तिम समयमा पार्टी नाम र नेतृत्वको विषयमा मतभेद भएपछि पूर्वसांसद सुमना श्रेष्ठ कुलमानको टोलीबाट अलग भएकी छिन्।

स्रोतका अनुसार सुमनाले प्रारम्भिक रूपमा कुलमानलाई अध्यक्षका रूपमा स्वीकार्न तयार भएकी थिइन्, तर उपाध्यायलाई संयोजक बनाउने प्रस्तावपछि उनले असहमति जनाउँदै अलग बाटो रोजेकी हुन्। उनले कुलमानले मन्त्री पद त्यागेर पूर्ण रूपमा संगठनमा लाग्नुपर्ने अडान लिएकी थिइन्।

सुमनाले फरक बाटो रोजे पनि भविष्यमा सहकार्यको ढोका बन्द नभएको बताएकी छन्। उनले भनेकी छिन्, “के भयो, कस्तो भयो अहिले भन्नु उपयुक्त हुँदैन। तर उहाँ अघि बढिसक्नुभयो, मेरो शुभकामना छ।”

स्रोतका अनुसार सुमनाले ‘उज्यालो नेपाल’ नामलाई व्यक्ति केन्द्रित भएको भन्दै ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ जस्ता नाम प्रस्ताव गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत सामूहिक नेतृत्वको मोडेलमा जाने सुझाव पनि दिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *