आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाडौं — आज छठ पर्वको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा–आराधना गरिँदैछ। चार दिनसम्म मनाइने यस पर्वको आज तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ, भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिनेछ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन सरकारले सार्वजनिक बिदा दिएको छ। व्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन्।

राजधानी काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत विभिन्न स्थानमा छठ पर्वका लागि पूजास्थल निर्माण गरिएको छ। तराई क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्व पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका नागरिकहरूले पनि श्रद्धा र उल्लासका साथ मनाउने क्रम बढ्दो छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश दिएको छ।

जनविश्वास अनुसार, छठ पर्व विधिपूर्वक व्रत गरेर मनाए मनोकामना पूरा हुने, परिवारमा सुख–समृद्धि आउने र सबै दुःख–कष्टहरू हट्ने विश्वास गरिन्छ।

व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो भोजन ग्रहण गरी शुद्ध रहन्छन्। केहीले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी पदार्थ त्यागी सात्विक भोजन ग्रहण गरेर व्रत आरम्भ गर्छन्।

यसरी श्रद्धा, पवित्रता र आत्मसंयमसहित मनाइने छठ पर्व देशभरको एक महत्वपूर्ण धार्मिक र सांस्कृतिक उत्सवका रूपमा स्थापित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *