काठमाडौं । दिपावलीको अवसरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले देउसी-भैलो जस्ता चाडपर्वका कार्यक्रमहरू मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले मात्र गर्न सूचित गरेको छ। विशेषतः राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ।
सार्वजनिक सूचना मार्फत कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी सम्भावित वस्तुको खरिद, बिक्री, भण्डारण र प्रयोग नगर्न अनुरोध गरेको हो।
सूचनामा भनिएको छ, “सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी-भैलो खेल्न पाइने छैन। त्यस्तै, सडक, पदमार्ग लगायतका सार्वजनिक स्थानहरूमा दीपावली पूजास्थल वा मण्डप बनाउनु पनि निषेध गरिएको छ।”
चाडपर्वको समयमा चोरी लगायतका आपराधिक क्रियाकलाप बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले नागरिकहरूलाई सतर्क रहन, घर खाली भएमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।
त्यस्तै, उपभोक्ता हित विपरीत कार्य नगर्न, कालोबजारी, कृत्रिम अभाव सिर्जना, म्याद नाघेका वस्तुको बिक्री वितरण नगर्न पनि सूचनामा भनिएको छ। सवारी सन्दर्भमा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, निर्धारित भाडादर लिइरहन र ट्राफिक नियम पालना गर्नसमेत आग्रह गरिएको छ।
अन्तमा, चिठ्ठा, जुवातास, अनलाइन सपिङका नाममा हुने ठगी तथा अवैध कारोबारबाट सतर्क रहन समेत नागरिकहरूलाई सचेत गराइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्