काठमाडौं, असोज २१ — अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामाको माग गर्दै जेनजी युवाहरुले आज टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरुले अख्तियार प्रमुखले नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने माग गरेका छन्। उनीहरुको भनाइमा राई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका संवैधानिक पदाधिकारीमध्ये एक हुन्, जसको नियुक्ति विवादास्पद छ।
प्रदर्शनकारी अमित खनाल ओझाले भने, “नैतिकताका दृष्टिले प्रेम कुमार राईज्यूले अब राजीनामा दिनु जरुरी छ। भ्रष्टाचारविरुद्धको निकायको प्रमुख आफैं विवादमा हुँदा जनविश्वास कमजोर हुन्छ।”
प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिएको थियो। शान्तिपूर्ण प्रदर्शन भए पनि प्रहरीले चनाखो उपस्थिति जनाउँदै केही समय सडक आवागमन नियन्त्रणमा लिएको थियो।
जेनजी युवाहरुले ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग पनि दोहोर्याउँदै आएका छन्। उनीहरुको भनाइमा, ती नियुक्तिहरूले संविधानको मर्म र लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएका छन्।
प्रदर्शनकारीले अख्तियार जस्तो संवैधानिक निकायमा स्वतन्त्र र निष्पक्ष नेतृत्व आवश्यक रहेको जोड दिएका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्