कांग्रेसको अपील : जोखिमका बेला स्वयंसेवक बन्न कार्यकर्तालाई आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १७

काठमाडौँ, असोज १७ – आगामी दिनहरूमा सम्भावित भारी वर्षाले मुलुकभर बाढी, पहिरो लगायतका प्राकृतिक विपद् निम्त्याउने पूर्वानुमानसँगै नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई उच्च सतर्कता अपनाउन र स्वयंसेवकका रूपमा सक्रिय रहन आग्रह गरेको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम ल्याउने सम्भावना रहेकाले कार्यकर्ताहरूलाई समयमै तयारी र प्रतिकार्यमा जुट्न अनुरोध गरेका छन्।

विज्ञप्तिमा अघिल्लो भदौ २३ र २४ गतेका विपद् जन्य घटनाले देशलाई मर्माहत बनाएको स्मरण गराउँदै, पुनः यस्तै विपद् दोहोरिन सक्ने भन्दै सबै कार्यकर्तालाई आ-आफ्नो क्षेत्रमा सतर्क र सक्रिय रहन भनिएको छ।

कांग्रेसले विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन सात बुँदे सतर्कता उपाय पनि सार्वजनिक गरेको छ। ती उपायहरूमा निम्न बुँदाहरू समावेश छन्:

  1. जोखिमबारे समयमै सूचना प्रवाह सुनिश्चित गर्नु
  2. जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्नु
  3. आवश्यक परेमा पहाडी सडकहरू अस्थायी रूपमा बन्द गर्नु
  4. स्थानीय तह, स्वयंसेवी तथा उद्धारकर्मीलाई परिचालन गर्नु
  5. साधन-स्रोत तयारी अवस्थामा राख्नु
  6. जनतालाई उच्च सतर्कता अपनाउन सचेत गराउनु
  7. सबै पक्ष एकजुट भएर समन्वयात्मक ढंगले काम गर्नु

विज्ञप्तिमा सरकार, अन्य राजनीतिक दलहरू र सर्वसाधारणलाई समेत युद्धस्तरमा सजगता अपनाउन अपील गरिएको छ। “सरकारले युद्ध स्तरमा सजगता र तयारी राखोस्, सम्भावित विपद् सामना गर्न जिम्मेवार ढङ्गले सबै जुटौँ,” विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *