नेपाल पक्षको बैठक सकियो: ओलीले गर्ने कदमको आधारमा अघि बढ्ने निष्कर्ष

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठक सकिएको छ ।

७० भन्दा धेरै सदस्यहरु सहभागि भएको उक्त भेलामा ५५ जना भन्दा धेरैले राय तथा सुझाव दिएको बताइएको छ ।

नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुमा नेताहरुले सम्मानजनक एकता हुनुपर्ने बताएका थिए । अन्यथा विद्राह गर्न या नयाँ पार्टी गठन गर्न उनीहरुको सुझाव छ ।

दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरुले एकता बिथोल्ने काम भएको नेताहरुले बताएका थिए । विशेष गरी ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो ।

‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ केन्द्रीय सदस्य निरज आचार्यले भने । एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए ।यस्तै केन्द्रीय सदस्य मेटमणी चौधरीले बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए । स्थायी समिति बैठकपछि केन्द्रीय समिति बैठकको सामूहिक धारणा दिने बताइएको छ ।

केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकालेका छन् । शुक्रबार बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष निकालेका हुन् ।

‘केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो । यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् । यसको भ्रममा नपरौँ,’ नेता जगन्नाथ खतिवडाले भने ।

१० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन । यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।

‘कार्यदलका साथीहरूलाई १० बुँदा भित्र एमालेको सम्पूर्ण जीवन अटाएको भन्ने लागेको छ । त्यहाँभित्र न्याय छ, समानता छ सबैको राजनीतिक अस्तित्व र हैसियत छ भन्ने वहाँहरूलाई लागेको छ । तर अरू केन्द्रीय सदस्य कसैलाई पनि त्यस्तो लागेको छैन,’ खतिवडाले भने ।

कार्यदलका सदस्यहरूले आगामी २४ गतेसम्म केही प्रगति हुने बताएको बताउँदै आफूहरूले त्यसलाई पर्खने पनि उनले जानकारी दिए । ‘हामीले २४ गते सम्मको डेडलाइन दिएका होइनौँ । २४ गते केपी ओलीले आफ्नो बैठक बोलाउनुभएको छ । वार्ता दलका साथीहरूले निश्चय केही नै प्रगति हुन्छ भन्नुभएको छ । त्यति बेलासम्म हेरौँ भन्ने कुरा उठेको हो ।

अध्यक्ष ओलीले साउन २४ गते बैठक बोलाएको र बैठकबाट के निर्णय हुन्छ त्यही अनुसार आगामी बाटो तय गर्ने विषयमा छलफल भएको खतिवडाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *