विकल्प दिए प्राधिकरण छोड्न सक्छु, तर असक्षम भन्ने टीका लगाउन पाइदैँनः हितेन्द्रदेव शाक्य

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामा गर्न कसैले पनि नभनेको बताउँदै आवश्यकता परे प्राधिकरण छोड्न तयार रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले आफूलाई विकल्प दिए प्राधिकरण छोड्न सक्ने तर असक्षम भन्ने टीका लगाउन नपाइने बताउनुभयो ।

उनले भन्नभुयो, ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु तर अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले पत्रकार सम्मेलन गरी उक्त कुरा बताउनुभएको हो ।

पत्रकारहरूसँगको भेटघाटमा शाक्यले भन्नुभयो, ‘मसँग कुनै राजीनामा मागिएको छैन, बरू अन्यत्र जानु भन्नेछ। मलाई सरकारले जे जिम्मेवारी दिन्छ एउटा कर्मचारीको हिसावले लिन तयार छु।’

तर अन्यत्र काम गर्न पठाउने हो भने दण्डित गरेर नभई आवश्यकता देखाएर लैजानुपर्ने उहाँको भनाइ छ ।

‘दण्डित गरेर होइन आवश्यकता देखाएर लैजानुपर्‍यो। काम गर्ने ठाउँ अन्यत्र पनि छ,’ उहाँले भन्नुभयो, ‘पहिले पनि मैले धेरै जिम्मेवारी लिएर काम गरेको हुँ।’

देउवाले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी गर्नुभएको छ भने सोही अनुसारको तयारी गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *