सोलुखुम्बु, साउन ७ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–७ स्थित रोक्तीमा सिमेन्ट बोकेको ट्रिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीका अनुसार, आज बिहान करिब ४:४० बजे बा ०१–००३ क ९२०४ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। ट्रिपर त्रिवेणी खोला काकुमा निर्माणाधीन पुलका लागि सिमेन्ट बोकेर गन्तव्यतर्फ जाँदै थियो।
दुर्घटनामा परेर घाइते हुनेमा चालक २७ वर्षीय आबास आचार्य (कावासोती, नवलपरासी), सहचालक २१ वर्षीय हिरा टमटा (खप्तड गाउँपालिका–३, मुगु) र २८ वर्षीय ग्यानी महत (चन्दनाथ नगरपालिका–१०, जुम्ला) रहेका छन्।
प्रवक्ता कार्कीका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
घटनापछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र नेपाल प्रहरीको सहकार्यमा उद्धार कार्य सम्पन्न गरिएको थियो। घाइतेहरूलाई थप उपचारका लागि फाप्लु अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्