काठमाण्डौँ । नेपाली समाजमा यात्राअघि दही–चिनी खाने परम्परा पुरानो सांस्कृतिक अभ्यास हो । यसलाई शुभ मानिने भए पनि आयुर्वेद र आधुनिक विज्ञान दुवैले यसको स्वास्थ्य लाभ स्वीकार गरेका छन् ।
आयुर्वेद अनुसार दही ‘उष्णवीर्य’, ‘रुचिकर’, ‘ग्राही’ र ‘वातनाशक’ गुणयुक्त हुन्छ । यसले पाचन सुधार्ने, भोक जगाउने, पेट गडबडी कम गर्ने र यात्रामा हुने थकान घटाउन मद्दत गर्छ । दहीले शरीरको रोगप्रतिरोधी क्षमता र ऊर्जा पनि बढाउने विश्वास गरिन्छ ।
दहीबाट बनाइने ‘तक्र’ (मोही) लाई आयुर्वेदमा पाचनका लागि अत्यन्त लाभदायक मानिएको छ । लामो यात्रा वा पेट भारी हुने समस्यामा तक्र उपयोगी मानिन्छ ।
आधुनिक विज्ञानले पनि दहीलाई ‘सुपरफूड’ को रूपमा हेर्छ । दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्य राम्रो राख्न, पाचन सन्तुलित गर्न र रोगप्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । यसमा क्याल्सियम, प्रोटिन, भिटामिन बी–१२, पोटासियम र म्याग्नेसियमजस्ता पोषक तत्व प्रशस्त हुन्छन् ।
अनुसन्धानहरूले दहीले मानसिक तनाव कम गर्न र ‘गट–ब्रेन एक्सिस’ सुधार गर्न पनि मद्दत गर्ने देखाएका छन् । दूध पचाउन गाह्रो हुने व्यक्तिहरूले समेत दही सजिलै पचाउन सक्छन् ।
यद्यपि आयुर्वेदले राति दही धेरै नखान र चिनी, मह वा घिउसँग मिसाएर सेवन गर्न सुझाव दिएको छ । त्यसैले यात्राअघि दही–चिनी खाने चलनलाई केवल अन्धविश्वास नभई स्वास्थ्यसँग जोडिएको परम्परा मान्न सकिन्छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्