इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै रहेको पुष्टि, परराष्ट्र मन्त्रालयले माग्यो माफी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौं । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै थुनामै रहेको पुष्टि भएको छ । यसअघि उनको रिहाइ भएको भन्दै आएको प्रारम्भिक जानकारी गलत सावित भएपछि परराष्ट्र मन्त्रालयले त्यसबारे स्पष्ट पार्दै माफीसमेत मागेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार झा इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दामा रहेका छन् र हालसम्म रिहा भएका छैनन् । यसअघि १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूतलाई झा रिहा भएको जानकारी गराएका थिए । सोही सूचनाका आधारमा मन्त्रालयका सम्बन्धित निकायमार्फत परराष्ट्रमन्त्री शिशिर खनाल र मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी दिइएको थियो ।

उक्त प्रारम्भिक सूचनालाई आधार मानेर परराष्ट्र मन्त्रालयले समेत झा रिहा भएको भन्दै सार्वजनिक विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका थिए । तर पछि प्राप्त थप कूटनीतिक र प्रशासनिक जानकारीपछि उक्त सूचना गलत रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झा हाल इरानको बन्दर अब्बासस्थित थुनामा रहेका छन् । उनीमाथि अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा मुद्दा चलिरहेको छ । इरानी अदालतले मुद्दासम्बन्धी विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको र उक्त प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।

यसैबीच, झालाई नेपाल फिर्ता ल्याउने प्रयोजनका लागि दूतावासमार्फत आवश्यक कागजात तथा प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *