वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक बेथिति, ५० भन्दा बढी मेडिकलमा अनियमितता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूमा गम्भीर अनियमितता र बेथिति भेटिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको टास्क फोर्सले ५० भन्दा बढी मेडिकल संस्थामा गरेको अनुगमनमा चर्को शुल्क असुल्ने, तोकिएका सबै परीक्षण नगर्ने, स्वास्थ्य परीक्षण नगरी नै रिपोर्ट दिने लगायतका गम्भीर लापरबाही फेला पारेको हो ।

म्यानपावर कम्पनी र स्वास्थ्य संस्थाबीच मिलेमतो गरी श्रमिकलाई पटक–पटक परीक्षण गराउने, एकपटकको मात्र बिल दिने र संगठित रूपमा ठगी गर्ने गरिएको पाइएको छ । केही संस्थाले पूर्वस्वीकृति नम्बर बिना परीक्षण गर्ने, कर छली गर्ने तथा गलत स्वास्थ्य प्रतिवेदन दिने गरेको समेत अनुगमनमा देखिएको छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण ३६ स्वास्थ्य संस्थाको सिन्डिकेटमार्फत मात्र गरिने गरिएको र बायोमेट्रिक प्रणालीका नाममा अतिरिक्त रकम असुल गरी विदेश पठाउने गरिएको पनि खुलासा भएको छ ।

टास्क फोर्सले स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि २०७२ को मापदण्ड पालना नगरेको, आवश्यक जनशक्ति कम रहेको, गुनासो सुन्ने व्यवस्था नभएको लगायत कमजोरी औंल्याएको छ ।

मन्त्रालयले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *