पुष्पा तेस्रो सातामै ३०० करोड क्लबमा : आखिर के छ तेस्तो अल्लु अर्जुनको फिल्ममा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २०

तेलुगू भाषामा निर्माण गरी हिन्दीमा डब गरिएको अल्लु अर्जुनको ‘पुष्पा: द राइज’ शृंखलाबद्ध फिल्म हो। यसको पहिलो भाग गएको रिलिज भएको छ। यसले प्रदर्शनको तेस्रो सातामासमेत उत्कृष्ट कमाइ गरिरहेको छ। भारत लगायत संसारभरि हालसम्म ३०० करोड भारू कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याएको छ।

७ दिनमै २ सय करोड आकडा पार गरेको पुष्पाले तेस्रो सातामै ३०० करोड कारोबार गरेर रेकर्ड राखेको छ।

यसअघि कोरोना महामारी र लकडाउनका कारण शिथिल हुन पुगेको बलिउड बक्स अफिसलाई अक्षय कुमार अभिनीत ‘सूर्यवंशी’ ले धमाकेदार ओपनिङ दिएको थियो। नोभेम्बर ५ मा रिलिज यो फिल्मले ४५ दिनमै झन्डै तीन सय करोड भारूको व्यापार गरिसकेको थियो। शूर्यबंशीको रेकर्डलाई पुष्पाले २१ दिनमै तोडेको छ।

बलिउडका ‘हिट मसिन’ रोहित सेट्टीको सूर्यवंशीले डेढ महिनामा जति कारोबार गर्‍यो, त्यसको रेकर्ड सन् २०२१ मा रिलिज हुने कुनै फिल्मले सायदै तोड्ला भनेर बलिउड बक्स अफिसका विश्लेषकहरूले भनेका थिए। उनीहरूको अनुमान गलत साबित गर्दै तीव्र रफ्तारका साथ अगाडि बढेको पुष्पाले अझै कमाउने आशा गरिएको छ।

तेलुगू फिल्मका सुपरस्टार अल्लु अर्जुनको यो फिल्मको ओपनिङ नै धमाकेदार भयो। रिलिजकै दिन यसले ४५ करोड भारू कारोबार गर्‍यो। यो रकम कुनै सुपरहिट हिन्दी फिल्मले गर्ने व्यापारको दाँजोमा कम होइन।

पुष्पाले यति ठूलो व्यापार गर्नु दुइटा कारणले महत्वपूर्ण रहेको बलिउडका व्यापार विश्लेषकहरू बताउँछन्।

पहिलो, कुनै पनि दक्षिण भारतीय फिल्मले भारतका सबै स्टेसनमा एकछत्र उम्दा व्यापार गर्ने घटना विरलै हुन्छ। यसअघि एसएस राजामौलीको ‘बाहुबली’ यसैगरी भारतभरि एकछत्र सुपरहिट भएको थियो। राजामौलीकै सुझावअनुसार पुष्पा पनि दक्षिण भारतीय स्टेसनमा मात्र केन्द्रित नभई भारतभरि विभिन्न भाषामा एकैचोटि रिलिज गरिएको यसका निर्देशक सुकुमारले कोईमोई डटकमलाई बताएका छन्।

‘एसएस राजामौलीले मेरो फिल्म हेरेपछि बाहुबलीजस्तै अल-इन्डिया रिलिज गर्न सुझाव दिए। सुरूमा म हच्किएको थिएँ। बाहुबलीकै दाँजोमा देशभरि रिलिज गर्दा पुष्पाले त्यति ठूलो सफलता पाउन सक्छ कि सक्दैन भन्नेमा मलाई शंका थियो,’ सुकुमारले भनेका छन्, ‘राजामौलीले मेरो हौसला बढाइदिए। उनकै सुझाव मानेर हामीले अल-इन्डिया रिलिज गर्ने निर्णय गर्‍यौं जसको नतिजा आज देशभरिको बक्स अफिसमा देखिँदैछ।’

अल-इन्डिया मात्र होइन, ‘पुष्षा’ नेपाली सिने बजारमा पनि सँगसँगै रिलिज भएको छ। पछिल्लो समय काठमाडौं लगायत नेपालका प्रमुख सिने बजारमा दक्षिण भारतीय फिल्मप्रति बढ्दो चासो र रूचि हेरेर यो फिल्म अल-इन्डियाका रिलिजका साथ यहाँ पनि प्रदर्शन गरिएको यसका वितरकहरूले बताएका छन्। काठमाडौंमा दक्षिण भारतीय फिल्म यसरी विरलै रिलिज हुने गर्छ।

रिलिज भएको छ दिनमै व्यावसायिक रूपले धूम मच्चाइरहेको यो फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’ लाई मात्र होइन, हलिउडको ‘स्पाइडरम्यान’ लाई पनि टक्कर दिइरहेको छ।

दक्षिण भारतबाट आएको पछिल्लो हटकेक सिनेमा ‘पुष्पा’ मा आखिर के छ? के यो प्रेम कहानी हो? के यसमा बाहुबलीजस्तै हुरूक्कै पार्ने कल्पनाशीलता छ?

झट्ट नाउँ सुन्दा ‘पुष्पा’ प्रेम कहानी हो कि भन्ने लाग्न सक्छ। जसरी यसलाई बाहुबलीकै शैलीमा अल-इन्डिया रिलिज गरियो, त्यस आधारमा यो फिल्ममा पनि बाहुबलीजस्तै भरपुर कल्पनाशीलताको स्वाद लिन पाइन्छ कि भन्ने पनि लाग्न सक्छ।

तर यो फिल्मले दुवै कल्पना पूरा गर्दैन।

पुष्पामा प्रेम त छ तर पूरा फिल्म प्रेममा आधारित छैन। बाहुबलीमा जस्ता अद्भूत पात्रहरू पनि यसमा छैनन्।

यो फिल्मको विशेषता भनेकै यसका साधारण पात्र हुन्। गाउँमा दाउरा काटेर गुजारा गर्ने मान्छे र त्यो दाउरा तस्करी गर्ने आपराधिक गिरोह वरिपरि फिल्म घुमेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *