काठमाडौं । ‘कवीर सिंह’ को सफलताले शाहिद कपुरले बलिउडमा आफ्नो स्टारडमको उचाइ अझ बढाएका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् ।
उनको अभिनय क्षमताका कारण पनि ‘कवीर सिंह’ बढी चर्चा पाएको हो । फिल्मलाई जीवन्त बनाउन शाहिदले कुनै कसर बाँकी राखेका थिएनन् । पछिल्लो समय ‘कमिने’ र ‘हैदर’ जस्ता फिल्ममार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम ‘कवीर सिंह’ पाएका छन् । शाहिद यतिबेला साउथको फिल्म ‘जर्सी’ को रिमेकको काममा व्यस्त छन् ।
‘अर्जुन रेड्डी’ को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिँदैछन् । किन त ? उनले एक कार्यक्रममा भने, ‘यो कथाले मलाई छोयो ।’ ‘कवीर सिंह’ पछि उनी रिमेक फिल्ममा काम गर्ने मनसायमा थिएनन् । त्यसैले उनी फ्रेस स्टोरीको खोजीमा थिए । तर, उनलाई ‘जर्सी’ को रिमेक अफर भएपछि फिल्म हेरे । उनले आफूले फिल्म चारपटक हेरेको बताए । ‘म सक्कली फिल्म गर्न चाहन्थे ताकि मानिसहरूले नसोचून कि म मात्र रिमेक गर्दैछु । तर जब मैले यो फिल्म हेरें, यसले मेरो हृदय छोयो,’ उनले भने, ‘चरित्र कवीर सिंह जस्तो छैन । ऊ शान्त, अन्तर्मुखी मानिस हो, तर उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’
शाहिदले फिल्मकै लागि प्रशिक्षणसमेत लिए । उनी क्यारेक्टरलाई झनै बुलन्द बनाउने तयारीअनुरुप क्रिकेटर देखिन हरसम्भव प्रयास गरे । स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेसनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेसनल टिमसम्म कसरी पुग्छन् ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ ।
शाहिदको को–स्टारको रुपमा मृनाल ठाकुर छिन् । फिल्मका लागि सुरुवात रश्मिका मन्दना रहने चर्चा भए पनि उनले अफर स्विकारिनन् । त्यसैले अब शाहिदको जोडीको रुपमा रहनेछिन् मृनाल ।
फेसबुकबाट तपाईको प्रतिक्रिया