काठमाडौं। ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि जितेका किरण गजमेरले आफुले प्राप्त गरेको २५ लाख रकमले शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।
उनले एक हजार रुपैयाँ मात्र आफूले लैजाने र बाँकी २४ लाख ९९ हजार नेपालकै पूर्वमा एउटा र पश्चिममा एउटा गरि दुईवटा एम्बुलेम्स किनेर दिने घोषणा गरेका हुन् ।
विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।
उनले भने, ‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु।
यस्तै किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने, ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया