त्रिविमा लगाएको ताला २५ दिनपछि खोलियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी २५ दिनपछि खोलिएको छ।

अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले लगाएको ताला त्रिविले आज प्रहरी प्रशासनको सहयोगमा खोलेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा लागेको ताला खोलेको बताए ।

क्रान्तिकारीले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन गरी चार वटा केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउन माग राखेर तालाबन्दी गरेको थियो ।

उनले विद्यार्थीको माग सम्बोधन हुने बताए। ‘विद्यार्थीको माग सम्बोधन गर्न तीन सदस्यीय शुल्क समायोजन समिति बनेको छ । समितिले तीन महिनाको समय पाएको छ।

उपकुलपति अर्यालले अन्य संकायको पनि शुल्क समायोजन गर्न लागिएको बताए । सम्बन्धन प्राप्त कलेजले लिने शुल्क फरक फरक पाएको उल्लेख गर्दै समितिले सबै कलेजको शुल्क अनुगमन गर्ने उनको भनाइ छ।

तालाबन्दीका कारण प्रशासनिक काम प्रभावित भएको भन्दै सोमबार रजिस्ट्रार कार्यालयले ताला खोल्न अल्टिमेटम दिएको थियो । उपकुलपति अर्यालले विद्यार्थी संगठन ताला नखोलेपछि प्रशासनको सहयोगमा ताला खोलिएको बताए । अखिल क्रान्तिकारीले गत पुस १९ गते ताला लगाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *