
११ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले विनायक सिद्ध (भीएस) कलेजले “ग्रान्ड एसईई करिअर काउन्सिलिङ कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट तथा कार्यकारी अधिकृत मनोज ज्ञवाली रहनु भएको थियो। उहाँले विद्यार्थीलाई शिक्षा मात्र नभई व्यवहारिक सीप र आत्मविश्वासले पनि भविष्य निर्माणमा सघाउने कुरामा जोड दिनुभयो।
क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले विगतदेखि नै एसईई पास गरेका विद्यार्थीलाई कक्षा ११ मा कुन विषय रोज्दा भविष्यमा सफलता मिल्छ भन्ने विषयमा मार्गदर्शन गर्दै आएको बताए। यस वर्ष करिब २ हजार विद्यार्थीको सहभागिता रहेको यो कार्यक्रम भविष्य निर्धारणको महत्वपूर्ण माध्यम बनेको उनको भनाइ थियो।
सिंखडाका अनुसार भीएस कलेजले प्लस टु र ब्याचलर तहका विद्यार्थीहरूका लागि सुरु गरिएको भए पनि हाल संस्थाले मन्टेश्वरीदेखि मास्टर्स डिग्रीसम्मको अध्ययन सञ्चालन गरिरहेको छ। हालसम्म झण्डै ९ हजार विद्यार्थी यो कलेजबाट शिक्षित भइसकेका छन्।
शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रुचिमैत्री बनाउँदै आएको भीएस कलेजले नृत्य, गायन, खेलकुद (बास्केटबल, फुटबल, मार्सल आर्ट्स), पब्लिक स्पिकिङलगायत जीवनोपयोगी सीपमा पनि विद्यार्थीलाई दक्ष बनाउनेतर्फ विशेष ध्यान दिएको सिंखडाले बताए।
भविष्यका पथप्रदर्शक बन्ने उद्देश्यले आयोजित यो करिअर काउन्सिलिङ कार्यक्रममा विभिन्न क्षेत्रका विषय विज्ञहरूले विद्यार्थीहरूसँग अनुभव बाँडेका थिए। सहभागी विद्यार्थी र अभिभावकहरूले कार्यक्रम उपयोगी र मार्गदर्शक भएको प्रतिक्रिया दिएका छन्।
विनायक सिद्ध कलेज विद्यार्थीको रुचि, क्षमता र वैश्विक आवश्यकता अनुसारको शिक्षा दिने संस्थाका रूपमा स्थापित हुँदै गएको स्पष्ट संकेत यस कार्यक्रमले दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया