बुटवल । नेपाली बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ अन्तर्गत नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड उत्कृष्ट बैंकका रूपमा सम्मानित भएका छन्।
भारतको नयाँदिल्लीमा आयोजित अवार्ड समारोहमा इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नबिल बैंकलाई वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ प्रदान गरेको हो। त्यस्तै, विकास बैंकतर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक’ को उपाधिसहित ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा सफलता हात पारेको छ।
शाइन रेसुङ्गाले एकैपटक तीन विधामा अवार्ड जित्नु नेपाली विकास बैंकहरूको वित्तीय सुदृढता, संस्थागत सुशासन, नाफा आर्जन क्षमता र दिगो व्यावसायिक विस्तारको अन्तर्राष्ट्रिय मान्यता भएको विश्लेषण गरिएको छ। रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक हो।
यस वर्षको अवार्डका लागि आईसीसीको इकोनोमिक अफेयर्स एन्ड पोलिसी डिपार्टमेन्टले नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड लगायत बिम्स्टेक सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गरेको थियो। सहभागी संस्थाहरूबीच वित्तीय अवस्था, सुशासन, व्यवसाय विस्तार, नवप्रवर्तन, ग्राहक सेवा, नाफा तथा समग्र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा गराइएको थियो।
पुरस्कार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय परामर्श संस्था प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले मूल्याङ्कन गरेको आयोजकले जनाएको छ।
सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, लगानी र वित्तीय सहकार्य प्रवर्द्धनमा सक्रिय संस्थाका रूपमा परिचित छ। संस्थाले प्रत्येक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूलाई सम्मान गर्दै आएको छ।
नेपाली बैंकहरूले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले नेपालको बैंकिङ प्रणालीको विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्