काठमाण्डौँ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् ।
सो जग्गा जम्मा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उनले उल्लेख गरेका छन् । जग्गा प्राप्तिको स्रोतमा उनले स्वआर्जन (अमेरिकाबाट फर्किंदा बचेको पैसा) उल्लेख गरेका छन् । सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सन्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उनको भनाइ छ ।
करिब तीन तोला सुन २०६० सालतिर किनेको पुनले लेखेका छन् । तर प्राप्तिको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरुले ‘उपहार दिएको’ जनाएका छन् ।
यसैगरी नेपाल बैंक लिमिटेडमा करिव ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा करिव २५ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरण पुनले सार्वजनिक गरेका छन् । नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा लेखेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम भने प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उनले उल्लेख गरेका छन् । यो रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीमा रहेको सम्पर्क कार्यालय सन्चालनमा खर्च गर्ने उनले जनाएका छन् ।
यसबाहेक आत्मकथा पुस्तक हालसम्म करिव २ लाख ५० हजार बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सन्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको उनले जनाएका छन् ।
सांसद पुनले यीबाहेक आफूसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य सम्पत्ति केही नभएको जनाएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्