अम्बे कोशी सहकारीले साना बचतकर्ताको रकम फिर्ता गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाण्डौँ । इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन् ।

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो ।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार, २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर बचत फिर्ताको प्रक्रिया सुरु भएको हो । उनका अनुसार, २८७ साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ बचतकर्ताको बैंक खातामा पठाइएको छ ।

समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरेको थियो ।

सहकारीले असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख भन्दा बढी छ । २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको छ ।

समिति सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया अघि बढेका कारण २० हजारसम्मको रकम फिर्तापछि १ लाख सम्मको बचत फिर्ता गर्ने तयारी छ । उनका अनुसार समितिले ऋण असुल गर्दैछ, ऋणले नपुगे सहकारी र सञ्चालकको सम्पत्ति लिलाम गरी बचत फिर्ता हुनेछ ।

प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बो कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *