काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठान बीच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका लागि मोतिबिन्दुको निःशुल्क पहिचान र शल्यक्रिया गर्ने समझदारी भएको छ ।
बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइटको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीअनुसार, सातै प्रदेशका सात स्थानमा निःशुल्क आँखा परीक्षण र मोतिबिन्दुको शल्यक्रिया गरिनेछ । साथै, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यक परे निःशुल्क चस्मा वितरण गरिनेछ ।
हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए ।
उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइटले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौति दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने उनको भनाई छ ।
उनले आफूहरुले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबिचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्