काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त रक्तदान अभियान सञ्चालन गरेको हो।
पौष १८ गते शुक्रबारदेखि १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरलाई स्मरणीय बनाउँदै बैंकले कोशीदेखि सुदूरपश्चिमसम्म एकै दिन रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान सम्पन्न भएको थियो।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ५५८ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूलाई प्राथमिकताका साथ वितरण गरिने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई आफ्नो मुख्य मूल्यका रूपमा लिँदै शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ।
बैंकले हालसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरजस्ता प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा परिचित ग्लोबल आइएमई बैंकले हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ।
यसका साथै, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू तथा भारतलगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै बैंकले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्