काठमाडौं, आश्विन २३ – नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक सीमा हटाएपछि बिहीबार सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। केही दिन यता गिरावटमा रहेको बजार बिहीबार २२.५९ अंकले उकालो लाग्दै २,५८२.१८ बिन्दुमा पुगेको छ।
दशैंपछि खुलेको सेयर बजार लगातार दुई दिन ओरालो लागेको थियो। तर, राष्ट्र बैंकको नीतिगत निर्णयपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ। बिहान ११:०३ बजे बजार एकैपटक चार प्रतिशतले उकालो लाग्दा ‘सर्किट ब्रेक’ लागी बजार २० मिनेटका लागि रोकिएको थियो।
आज ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ नाघेको छ। बैंक, विकास बैंक, वित्त, बीमा, उत्पादन र लगानी समूहले एक प्रतिशतभन्दा बढीको वृद्धि देखाएका छन् भने व्यापार समूहमात्र १.४८ प्रतिशतले घटेको छ।
सेयर मूल्यमा सर्वाधिक वृद्धि विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको देखिएको छ, जसका लगानीकर्ताले ८.२१ प्रतिशत लाभ उठाएका छन्। यस्तै एसियन हाइड्रोपावर पाँच प्रतिशत, कर्पोरेट विकास बैंक र सिन्धु विकास बैंक क्रमशः चार र तीन प्रतिशतभन्दा बढीले बढेका छन्।
तर, सबै कम्पनीको अवस्था सकारात्मक भने देखिएको छैन। थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ भने भूगोल इनर्जी र आत्मनिर्भर लघुवित्तका सेयरमा पनि तीन प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्